Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


संवैधानिक निकायमाथि कार्यपालिकाको हस्तक्षेप हुनु लोकतन्त्रका लागि घातकः नेकपा सांसद पुन

'पदाधिकारीलाई बोलाएर केरकार गर्ने र नियन्त्रणमा लिन खोज्ने कार्य संविधानको भावनाविपरित'

13
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संवैधानिक निकाय र अदालतमा विचाराधीन विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सार्वजनिक लेखा समितिको मंगलबार बसेकाे ठैकमा बोल्दै सांसद पुनले यस्ताे आपत्ति जनाउनुभएको हाे। शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयाे । सांसद पुनले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूले संवैधानिक निकायका पदाधिकारीलाई बोलाएर केरकार गर्ने र नियन्त्रणमा लिन खोज्ने कार्य संविधानको भावनाविपरित भएको बताउनुभयो ।

सांसद पुनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) देखि ई–पासपोर्ट खरिद प्रक्रियासम्म भएका विभिन्न ‘भेरिएसन’ र ठेक्का प्रक्रियामा प्रश्न उठाउनुभएकाे छ । शुरुमा ५० लाख प्रति ई–पासपोर्टको टेन्डर आह्वान गरिएकोमा पछि त्यसलाई घटाएर २० लाखमा सीमित गरिएको र पुनः ६४ लाख पुर्‍याइएको विषयमा उहाँले छानबिनको माग गर्नुभयो ।

सुरक्षण मुद्रण प्रेस (सेक्युरिटी प्रिन्टिङ प्रेस) स्थापना गर्ने प्रक्रियामा भएको ढिलाइ र यससँग जोडिएका भ्रष्टाचारका प्रकरणहरूले मुलुकलाई आर्थिक क्षति पुगेको उहाँको भनाइ छ ।राहदानी खरिदको विषयमा बारम्बार हुने भेरिएसनले नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएको उल्लेख गर्नुभयो ।

मुलुकमा ‘क्रोनी क्यापिटलिज्म’ (आसेपासे पुँजीवाद) हावी भएको टिप्पणी गर्दै सांसद पुनले राज्यसत्ता विचौलिया र स्वार्थ समूहको कब्जामा जान लागेकोमा चिन्ता व्यक्त गर्नुभएकाे छ। उहाँले ‘नेपो–किड’ र ‘नेपो–बेबी’ जस्ता शब्दावली प्रयोग गर्दै जनताले नचिन्ने र कुनै संवैधानिक जवाफदेहिता नभएका व्यक्तिहरूले राज्यका महत्त्वपूर्ण निर्णयहरूमा प्रभाव पारिरहेको दाबी गर्नुभयो ।

सांसद पुनले राहदानी खरिद र सुरक्षण मुद्रणका विषयमा सार्वजनिक लेखा समितिले विस्तृत र स्वतन्त्र अध्ययन गर्नुपर्ने प्रश्ताव गर्नुभएकाे छ । उहाँले यो विषय अदालतमा विचाराधीन भएपनि प्रणाली सुधारका लागि संसदीय समितिले अध्ययन गर्न कुनै बाधा नहुने तर्क गर्नुभयो ।

साथै, कर्मचारी प्रशासन र सञ्चार जगत्लाई पनि कुनै डर र त्रासबिना आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।