१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


अत्यधिक गर्मीले धानखेतमै एकजनाको मृत्यु, दुई बेहोस


0
Shares

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।

त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धानखेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए ।

बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. मनोज दासले बताए ।

आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएकी थिइन् ।

सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरुले उनलाई खेतको आलीमा राखेको र गाउँमा खबर पुर्‍याएर उनलाई उपचारका लागि लैजान खोज्दा उनको खेतनजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए । रासस