२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकल दौड


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, कात्तिक १९ । अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस ‘याक अट्याक’ सोमबारदेखि सुरु भएको छ ।

यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक हो ।

उच्च हिमाली क्षेत्रअन्तर्गत् अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ साइकल दौड प्रतियोगिता लमजुङको बेसीसहरबाट सुरु भएको हो ।

‘याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिज’को यो १२औं संस्करण हो ।

प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो ।

‘याक अट्याक २०१८’को १२औं संस्करण कुल ७ दिनको हुनेछ । प्रतियोगीले दुई दिन थकान मेटाउनेछन् । पाँच दिन साइकल दौडाउनेछन् ।

प्रतियोगीले समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्नेछन् ।

पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।

साकलिङममा नेपालसहित १५ देशका ३४ प्रतियोगी सहभागी छन् ।

प्रतियोगिताका निर्देशक अजय पण्डित क्षेत्रीकाअनुसार पाँच हजार अमेरिकी डलरको पुरस्कार रहेको छ । पुरुष र महिला विजेता दुवैलाई बराबरी पुरस्कार रहेको उनले बताए ।

प्रतियोगितामा पहिलो हुनेलाई एक हजार २५० डलर, दोस्रोलाई ७५० डलर र तेस्रोलाई ५०० डलर पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

बेलायती फिल इभान्सको आयोजना र माउन्टेन बाइक कम्पनीको व्यवस्थापनमा प्रतियोगिता सन्चालन भएको हो ।

यसअघि, पाँचपटकसम्म विजेता बनेका अजयकाअनुसार ‘हाइ अल्टिच्युट’मा नेपालीहरुको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडीले उठाउँदै आएका छन् ।

योपटकको प्रतियोगितामा बेलायत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, पोर्चुगल, हंगेरी, फ्रान्स, अष्ट्रिया, जापान, मलेसिया, सिंगापुर, क्यानडा, अमेरिका, डेनमार्क र नेपालका प्रतियोगी सहभागी छन् ।

प्रतियोगितामा भाग लिन विदेशीले प्रतिव्यक्ति चार हजार डलर र नेपालीले प्रतिव्यक्ति ३०० डलर जम्मा गरेको अजयले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पैदलयात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यानकेन्द्रित भएको बताए ।

नगरपालिकाले पञ्चेबाजा बजाएर प्रतियोगीलाई स्वागत गरेको थियो ।