Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आईपीएल २०२७ को अक्सनमा १० नेपाली खेलाडीले गराए नाम दर्ता


0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि हुने खेलाडी लिलामी प्रक्रियामा सहभागी हुन नेपालका १० क्रिकेटरले आफ्नो नाम सूचीकृत गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको विवरणमा नेपाली खेलाडीहरूको नाम पनि समावेश छ । आगामी सिजनका लागि विश्वका १८ देशका गरी कुल १ हजार २२० खेलाडीले अक्सनमा सहभागी हुन आवेदन दिएका छन् ।

दर्ता भएका खेलाडीमध्ये ९३९ जना भारतका छन् भने २८१ जना अन्य देशका रहेका छन् । भारतपछि अस्ट्रेलियाबाट सर्वाधिक ५३ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएट राष्ट्रहरूबाट मात्रै ४२ खेलाडी अक्सनको प्रक्रियामा सहभागी हुन इच्छुक देखिएका छन् । यस समूहमा अमेरिका १३ खेलाडीसहित अगाडि छ । नेपाल र यूएईबाट समान १० खेलाडीले नाम लेखाएका छन् । त्यस्तै नेदरल्यान्ड्सका तीन तथा क्यानडा, जापान र स्कटल्यान्डका दुई(दुई खेलाडी सूचीमा छन् ।

अक्सन हुनुअघि नै विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडीलाई रिटेन तथा छनोट गरिसकेका छन् । अब बाँकी स्थानका लागि हुने लिलामीबाट ६६ खेलाडी टोलीमा आबद्ध हुनेछन् । उपलब्ध स्थानमध्ये २५ जना विदेशी खेलाडीका लागि छुट्याइएको छ ।

अक्सनमा सहभागी हुन दर्ता भएका खेलाडीमध्येबाट अन्तिम सूची तयार पार्ने काम डिसेम्बर ४ मा सम्पन्न हुनेछ ।