काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताउनुभएको छ ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आवद्धता बढाउन सरकारले यस वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आगामी वर्षहरूमा समेत सामाजिक सुरक्षाको दायरा विस्तारका लागि निरन्तर बजेट विनियोजन गर्दै जाने उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्ने उहाँको भनाइ छ । आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिने उहाँले बताउनुभयो ।
वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र पुनर्वितरण रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार अत्यन्त न्युन आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा दिनुपर्छ भने योगदान गर्नसक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्छ । यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टीको नीतिअनुसार सरकारले आफ्ना प्रतिवद्धता कार्यान्वयन गर्दै जाने उहाँको भनाइ छ । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने उहाँले बताउनुभयो । विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा, विशेषगरी साना तथा मझौला उद्यममा समेत उत्पादकत्व वृद्धि हुने देखाएको उहाँको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनपछि विभिन्न मुलुकमा यसको प्रभाव मूल्यांकन गरिएको छ । त्यस्ता मूल्याङ्कनहरूले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा उत्पादकत्वमा समेत वृद्धि हुने गरेको देखाएका छन् । विशेषगरी साना तथा मझौला उद्यमहरू (एसएमई) मा पनि यसको सकारात्मक प्रभाव परेको पाइएको छ । यसका पछाडि आर्थिक दृष्टिकोणबाट एउटा सैद्धान्तिक आधारसमेत रहेको छ । सामाजिक न्यायका क्षेत्रमा काम गर्दा साधन र साध्यलाई छुट्याइराख्नुपर्दैन । सामाजिक न्यायका नाममा गरिने लगानी आफैँमा साध्य हुन् । तर आर्थिक लगानीका सन्दर्भमा भने कहिलेकाहीँ यो कुन साधन हो र यसले कुन साध्य प्राप्त गर्न सहयोग पुर्याइरहेको छ भन्ने विषय पनि हेर्नुपर्ने हुन्छ । यस दृष्टिकोणबाट हेर्दा सामाजिक सुरक्षा खर्च आर्थिक उत्पादकत्वसँग समेत जोडिएको विषय हो भन्ने हामीलाई थाहा छ । त्यसैगरी, जनसाङ्ख्यिक लाभ लिन तथा नयाँ पुस्तालाई राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउन पनि सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । त्यसैले सरकारले पूर्ण प्रतिबद्धताका साथ कोषको दायरा विस्तार गर्ने काम गरिरहेको छ । मैले अघि पनि सङ्केत गरिसकेको छु, आगामी आर्थिक वर्षको बजेटमा हामीले धेरै विषयलाई विशेष रूपमा घोषणा गर्दैछौँ । त्यसको तयारीका लागि पनि यहाँहरूको सहयोग र सुझाव महत्वपूर्ण हुनेछ । सामाजिक सुरक्षा कोषको दायरा विस्तार हुँदै जाँदा कमाउन सक्ने वर्गले योगदानमा आधारित सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने र कम आय भएका वा आयआर्जन गर्न नसक्ने वर्गलाई राज्यले क्रमशः सामाजिक सहायता तथा पुनर्वितरणका माध्यमबाट सुविधा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यसरी सामाजिक सुरक्षालाई सर्वव्यापी बनाउने दिशामा हामीले काम गर्नुपर्नेछ । बजेटको परिकल्पना र वर्तमान सरकारको सोच पनि यही हो । यद्यपि, माग गरेकै रकम र माग गरेकै समयमा उपलब्ध गराउन नसकिएला । तर, हाम्रो दीर्घकालीन योजना यही अवधारणाअनुसार अगाडि बढ्नेछ । त्यसैले हाम्रा श्रममन्त्रीले एकपटक होइन, दसपटक नै फोन गर्नुपर्छ । तर काम भने अवश्य हुन्छ । मैले यहाँहरूसमक्ष राख्न चाहेको कुरा यही हो । सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि सरकारले काम गरिरहेको छ । यसका लागि अनिवार्य पेन्सनमा प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी राज्यले कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरी विशेष प्रकृतिको ऋणपत्र जारी गर्न सक्ने नीतिगत आधारका विषयमा समेत छलफल भइरहेको छ । त्यसैगरी, छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत संरचनामा रूपान्तरण गर्दै दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक संरचना निर्माणका विभिन्न विकल्पहरूमाथि पनि छलफल भइरहेको छ ।’
सामाजिक सुरक्षामा गरिने खर्चलाई आर्थिक उत्पादकत्वसँग पनि जोडेर हेर्नुपर्ने बताउँदै वाग्लेले सामाजिक न्यायका क्षेत्रमा गरिने लगानी आफैँमा महत्वपूर्ण उद्देश्य भएको बताउनुभयो । सामाजिक सुरक्षाले समृद्धिको सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्याउने उहाँले बताउनुभयो । नयाँ पुस्तामा समेत राज्यको उपस्थिति र सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।
वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यका भौतिक पूर्वाधारसँग जोड्ने विषयमा पनि सरकारले काम गरिरहेको बताउनुभयो । अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकमलाई ध्यानमा राख्दै कोषको न्युनतम दायित्व भुक्तानी गर्न सकिने गरी ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउने विषयमा पनि विभिन्न विकल्पमाथि छलफल भइरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको र आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्