२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कुशल मध्यस्थकर्ता गुमायौं : सभामुख महरा


0
Shares

काठमाडौं, कात्तिक १८ । सभामुख कृष्णबहादुर महराले मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति–प्रक्रियाका कुशल मध्यस्थकर्तालाई गुमाएको बताएका छन् ।

सभामुखले आइतबार शोकसन्देश दिँदै तुलाधर राजनीतिक, सामाजिक, सांस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रस्ट वक्तालाई गुमाएको भन्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुखको सन्देशमा भनिएको छ–‘उहाँले पञ्चायतकाल होस् या २०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि गरेको संघर्ष, माओवादी जनयुद्धलाई शान्ति–प्रक्रियामा ल्याउन मध्यस्थकर्ताकारुपमा खेलेको भूमिका र २०६२/०६३ को जनआन्दोलनमा नागरिक अगुवाकारुपमा पूरा गरेको जिम्मेवारी अतुलनीय छ ।’

माओवादी आन्दोलनलाई शान्ति–प्रक्रियामा ल्याउन भूमिका खेल्ने एक कुशल मध्यस्थकर्ता, एक इमान्दार, निष्ठावान् र विश्वासिलो व्यक्तित्वकारुपमा चिनेको भन्दै सभामुखले माओवादी आन्दोलनकाक्रममा सरकारसँग भएका तीनओटै वार्तामा उनी मध्यस्थकर्ताकारुपमा रहेको स्मरण गरेका छन् ।

तुलाधरको तटस्थ र इमान्दार भूमिकाले शान्ति–प्रक्रिया सफल बनाउन विशेष योगदान गरेको स्पस्ट पार्दै उनले माओवादी आन्दोलनलाई राजनीतिक शक्तिकारुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा स्थापित गर्न खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । रासस