
रविन भट्टराई
झापा, कात्तिक १६ । चार दिनदेखि बेपत्ता झापाका एक व्याक्तिको शव सीमावर्ती क्षेत्रको भारततर्फ हत्या गरी पुरेको अवस्थामा फेला परेको छ ।
गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव शुक्रबार बिहान भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा पुरेको अवस्थामा फेला परेको हो ।
किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा चार दिन अघि ‘झारफुक’ गर्न गएको राजवंशीको शव नेपाल–भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
काँसघारीमा मृतक राजवंशीको चश्मा, बेल्ट र टोपी फेला परेकाले खोज्ने क्रममा पुरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् गरिएको प्रहरीले बताएको छ ।
सो शव परीक्षणका लागि भारतीय प्रहरीले लिएर गएको छ भने साथमा मृतकका छोरा उदयलाल राजवंशी पनि गएका छन् ।
भेटिएका सामग्रीका आधारमा आफ्नो बुबाको शव भएको मृतकका छोरा उदयलाल राजवंशीले पहिचान गरेको प्रहरीले बताएको छ । शव भारततर्फ भेटिएकाले सो घटनाको भारतीय प्रहरीले भारततर्फ र नेपालमा नेपाली प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्