
मधुकर अधिकारी (रासस)
वासिङ्टन डिसी, कात्तिक १२ । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपालीमूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेमा मेरिल्यान्डका ह्यारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् ।
उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कंग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ ।
सो निर्वाचनले सिनेट र कंग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निर्क्योल गर्नेछ ।
सोही निर्वाचनमा मेरिल्यान्डको डिस्ट्रिक ८ बाट नेपालीमूलका ह्यारी भण्डारीले हाउस अफ डेलिगेटसमा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् ।
भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुन् ।
सो डिस्ट्रिकबाट तीनजना उम्मेदवार हाउस अफ डेलिगेटसमा निर्वाचित हुन्छन् ।
डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्वीङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जानसक्ने डिष्ट्रिककारुपमा लिइन्छ ।
आइतबार ‘अर्लि भोटिङ’को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहेका भण्डारीले रासससँगको कुराकानीकाक्रममा भने–‘हामीहरुको अवस्था राम्रै रहेको छ । मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ ।’
प्रचार–प्रसारका विषयमा उनले रासससँग भने–‘हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन् । सबैखाले प्रचार–प्रसारमा पनि राम्रै गरेका छौं ।’
न्यू ह्याम्सायरबाट डेमोक्र्याट पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी मदलसा गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ ।
उता, प्रदीप ढकालको उम्मेदवारी कुनै दलगत नभइ केवल स्थानीयस्तरको एकाइको पद हो । उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँचजना यसअगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् ।
यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा ह्यारी भण्डारीमात्र रहेका छन् ।
भण्डारी जिताउनका लागि स्वयंसेवी बनेका डा. श्याम कार्कीले रासससँग भने–‘ह्यारीको जितले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्नेछ ।’
यसैगरी, भण्डारी उम्मेदवार बनेका क्षेत्रमा बसोबास गर्ने अर्जुन हमालले भने–‘भण्डारी अहिले यो क्षेत्रमा एक उदयीमान नेताकारुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ । त्यसैले उहाँलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका बाल्टीमोर सनले पनि इन्डोर्स गरेको छ ।’
मेरिल्यान्डमा काम गर्ने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुत् भएको बताए ।
करिब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ ।
नेपाली तथा भुटानी मूलका करिब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्छन् ।
अमेरिकामा आगामी नोभेम्बर ६ मा हुने निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जित–हारले सुनिश्चित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्