वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ • Image Khabar Image Khabar


वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार ०२:५०

वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

वीरगन्ज, जेठ २८ । नेपालमा प्रतिबन्धित ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित पर्साको वीरगन्जबाट पुनः दुई जना पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा भारतीय नोटसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ का अजितकुमार झा र निरज सिंह वीरगन्जमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई हिजो वीरगन्जको रानीघाट चोकमा पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा ना. ३१ प ५६०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरु पक्राउ परेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । उनीहरुमाथि आवश्यक थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज नाकाबाट पछिल्ला तीन सातामा ७४ लाख ३५ हजार ५ सय प्रतिबन्धित भारतीय रुपैयाँ बरामद भइसकेको छ ।

जेठ ५ गते शंकराचार्य गेटबाट १२ लाख ७५ हजार तथा २२ गते रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँ बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्