
काठमाडौं, कात्तिक ८ । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले शानदार सुरुआत गरेको छ ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको हो ।
मध्यान्तरअघि २ गोल गरेको नेपालले मध्यान्तरपछि पनि २ गोल नै गरेको थियो ।
खेलको २८औं मिनेटमा जान लिम्बूले पेनाल्टीमार्फत् नेपालको गोलको खाता खोलेका थिए । त्यसको सात मिनेटपछि नमस थापामगरले एक गोल थपे ।
६३औं मिनेटमा शशांक बोहराले तथा ६८औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई जिताए ।
खेलको अधिकांश समय नेपाल हावी देखिएको थियो ।
यसअघि, बिहीबारै भएको उद्घाटन खेलमा पाकिस्तानले भारतलाई २–१ ले पराजित गरेको थियो ।
पाँचौं संस्करणको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, पाकिस्तान र भुटान रहेका छन् ।
नेपालले समूहको अन्तिम खेलमा आगामी सोमबार बंगलादेशसित खेल्नेछ । साफको यो उमेर समूहमा भारतले दुईपटक तथा बंगलादेश र पाकिस्तानले एक/एकपटक उपाधि जितेका छन् ।
नेपाल भने सन् २०१३ र २०१७ को उपविजेता टोली हो ।
प्रतिक्रिया दिनुहोस्