
-दीपक घिमिरे/ईमेज
भैरहवा । रोजगारीका लागि भारतका विभिन्न शहर पसेकाहरु दसैं मनाउन रुपन्देहीको बेलहिया नाकाबाट स्वदेश फर्किने क्रम जारी छ ।
अन्य सीमा नाकामा यात्रीले खासै समस्या झेल्नु नपरेको खबर आइरहँदा रुपन्देहीको बेलहिया नाकामा भने छिटफुट समस्या देखिएको छ । यद्यपी विगतका तुलनामा भने धेरै सहज देखिएको छ ।
नेपाल र भारतबीचको मुलुककै दोस्रो ठूलो नाका हुँदै भारतमा कार्यरत अधिकांश नेपालीहरु स्वदेश फर्किसकेका छन् भने कतिपयको फर्किने क्रम जारी छ ।
विगतका वर्षहरुमा सीमा नाकामा लुटपाट र आपराधिक घटना हुँदै आएकोमा यस वर्ष विशेष सुरक्षा योजना लागु गरिएको छ ।
साथै यात्रुहरुलाई पनि लुटपाटका घटनाप्रति विशेष सजग हुन सचेत गराइएको छ ।
जसका कारण लुटपाट र चोरीका घटनाहरु न्युनीकरण भएका छन् ।
गत साल २० नेपालीहरु भारतमा लुटिएको भएपनि यसवर्ष ४ जना नेपाली लुटिएको बेलहियाका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापाले जनाए ।
त्यस्तै उनीहरुसँग मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीहरुलाई सचेत गराइएको उनले बताए ।
भारत लगायतका मुलुकबाट आउने नेपाली यात्रुहरु पनि भारतीय पक्षबाट बाटोमा खासै अप्ठ्यारो खेप्नुनपरेको बताउँछन् ।
त्यस्तै भारतीय सेनामा कार्यरत पर्वतका धनबहादुर राना पनि भारतीय पक्षबाट समस्या नआएको बरु ठाउँठाउँमा सहयोग गरेको बताउँछन् ।
अपराधि लुटेरा जहाँतही हुने भएकोले स्वदेश आइसकेपछि पनि यात्रुहरु विशेष चनाखो भने बन्नैपर्छ ।
प्रतिक्रिया दिनुहोस्