
बागलुङ, असोज २७ । नेपाल भलिबल संघद्वारा बागलुङको गलकोटमा आयोजित २२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
शनिबार भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।
पुलिसकाविरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपीएफले जित निकालेको थियो ।
यसअघि, बुटवलमा भएको १९औं, इटहरीमा भएको २०औं र पोखरामा भएको २१औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपीएफले नै कब्जा गरेको थियो ।
विजेता एपीएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त गर्यो ।
प्रतियोगितामा प्रदेश नम्बर–५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ ।
विजयी टोलीलाई गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेलगायतले पुरस्कार वितरण गरे ।
पाँच दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय र ६ प्रदेश टोली गरी ९ टोलीको सहभागिता थियो ।
प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक ६ गरी २४ खेलाडी छनोट भएका छन् ।
छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए । रासस
प्रतिक्रिया दिनुहोस्