काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमिति रौनियार, पूर्वअध्यक्ष एवं उनका बाबु हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभिन्न निर्माण ठेक्कामा लापरबाही र भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुबाट ९० करोडरुपैयाँभन्दा बढी विगो असुल गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ ।
पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार संघीय समाजवादी फोरम नेपालका सांसदसमेत हुन् । उनी पर्सा–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
रौनियार बाबु–छोराबाट जनही १९ करोड ३२ लाख रुपैयाँ बढी विगो असुल गर्नुपर्ने माग अख्तियारले गरेको छ ।
मुद्दा दायर गरिएका अरु व्यक्तिहरुमा नेपालगन्जस्थित डिभिजन सडक कार्यालयका तत्कालीन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव, इन्जिनियर नवराज केसी, इन्जिनियर प्रेमप्रसाद चुवाई, इन्जिनियर हरिबहादुर खड्का, इन्जिनियर दीपेन्द्रबहादुर विष्ट र सबइन्जिनियरद्वय कर्मा तेन्जिङ लामा र गोविन्द गैरे रहेका छन् ।
उनीहरुबाट झन्डै ५२ करोड रुपैयाँ बराबरको विगो असुल गर्नुपर्ने माग अख्तियारको रहेको छ ।
त्यस्तै, एभरेस्ट इन्जिनियरिङ कन्सल्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा लापरबाही गरेको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उक्त पुल बनाउँदा निर्माण कम्पनी, डिभिजन सडक कार्यालय र फिल्डमा काम गर्ने प्राविधिकहरुकोसमेत मिलेमतो पाइएको जिकिर पनि अख्तियारले गरेको छ । जसका कारण पुल निर्माण गर्दैदेखि बांगो देखिएको र सम्पन्न नहुँदै भत्किएको पाइएको पनि अख्तियारको भनाइ छ ।
फिल्डमा खटिएका प्राविधिकले लाइन लेभल तथा पायर हाइटमा गम्भीर लापरबाही गरेको, हचुवाको भरमा नापजाँच गरेको, मापदन्डअनुसारको स्पेसिफिकेसन पूरा नगरेको र निर्माण सामग्रीसमेत गुणस्तरहीन प्रयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।
यस्तै, पाइलहरुको गहिराइ डिजाइनबमोजिम नहुँदा पुल भास्सिएको पनि अख्तियारले जनाएको छ । गुणस्तर प्रमाणित नगर्दै रकम भुक्तानीका लागि सिफारिस गरेको पाइएको पनि अख्तियारको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्