काठमाडौं, असोज १९ । कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौं ल्याइँदै छ ।
६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो । ज्ञवालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमती संलग्न जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए ।
गुल्मीको मध्यम वर्गीय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमती संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा उनलाई दोषी ठहर गर्दै १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै उनी फरार भएका थिए।
ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले यो बैंक खरिद गरी खराब कर्जा असुली थालेपछि दुर्घटनाबाट जोगिएको थियो ।
सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला अदालतले सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्