काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले नेपालमा लगानीको वातावरण सुधार गर्न व्यवसायीले उठाउँदै आएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री शाहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिष्पर्धाका बीच नेपालले पनि आफ्नो परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले लगानी आकर्षित गर्न प्राकृतिक स्रोत र बजारको सम्भावना मात्र पर्याप्त नहुने बताउँदै कार्ययोजना बनाएर सुधारको काम थालिने बताउनुभयो ।
उहाँकाअनुसार लगानीका लागि नीतिगत स्थिरता, पारदर्शिता, सरकारी निर्णय प्रक्रियामा छिटोपना र लगानीकर्ताको विश्वास महत्वपूर्ण हुन्छ । त्यसका लागि ९० दिने कार्ययोजना बनाएर काम अघि बढाउने तयारी छ ।
पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीका प्रमुख समस्या, लगानीका प्रश्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ । त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समाधानका उपाय खोजिनेछ ।
९० दिनको अवधिभित्रै सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
सरकारको कामको मूल्यांकन बैठक र छलफलको संख्याबाट नभई त्यसले व्यवसायीका समस्या समाधान गर्न पुर्याएको योगदानबाट हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक गर्यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण गर्यौँ र कति रोजगारी सिर्जना गर्यौँ भन्ने आधारमा हुनुपर्छ ।’
नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने मन्त्री शाहको भनाइ छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकास र लगानी विस्तारको आधार बनाउन सकिने उल्लेख गर्दै उहाँले मित्रताले अवसर सिर्जना गर्ने भएपनि वास्तविक समृद्धिका लागि लगानी आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको पर्याप्त सम्भावना रहेको बताउनुभयो । त्यस्तै, नेपाली पश्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन तथा जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा थप अवसर पाउन सक्ने उहाँको भनाई छ ।
लगानीको सम्भावना हुँदाहुँदै पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताका कारण अपेक्षित लगानी भित्र्याउन चुनौती रहेको उहाँले स्वीकार गर्नुभयो । व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
विशेषगरी नेपाल र बेलायतबीच प्रश्तावित दोहोरो कराधान उन्मुक्ति सम्झौता (डीटीएए) लाई अगाडि बढाउन आफ्नो मन्त्रालयले अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र बेलायती पक्षसँग आवश्यक समन्वय गर्ने मन्त्री शाहले बताउनुभयो । उक्त सम्झौताले दुई देशका लगानीकर्तालाई दोहोरो करको भारबाट राहत दिनुका साथै कर प्रणालीप्रति स्पष्टता र विश्वास बढाउने उहाँको विश्वास छ ।
मन्त्री शाहले बेलायती कम्पनीहरूलाई नेपालमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण, उत्पादनमूलक उद्योग र नयाँ सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई पनि आफ्नो पुँजी, अनुभव, व्यावसायिक दक्षता र प्रविधिको उपयोग गर्दै नेपालको आर्थिक विकासमा योगदान दिन उहाँले आह्वान गर्नुभयो ।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले लगानी र नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्