काठमाडौं । सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘आशा’ आगामी फागुन १४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । बाबु र छोराबीचको आत्मीय सम्बन्धसँगै श्रीमान्–श्रीमतीबीचको प्रेम, विश्वास र पारिवारिक सम्बन्धलाई मुख्य विषय बनाइएको फिल्मले दर्शकमाझ भावनात्मक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
राजिव गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलपछि तय गरिएको हो । फिल्मकी निर्माता शर्मिला थापा हुन् । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्मको फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको छ । सो फिल्मको ईमेज च्यानल अफिसियल मिडियाका रुपमा रहेको छ ।
फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा छन् । उनीसँगै अभिनेत्री अञ्जना बराइली र अभिनेता आशान्त शर्माको महत्त्वपूर्ण भूमिका रहेको छ । साथै केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीलगायत कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।
फर्स्टलुक पोस्टरमा पारिवारिक वियोग र भावनात्मक दृश्य
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुबारे केही संकेत गरेको छ । पोस्टरमा अभिनेता महेश त्रिपाठी सेतो पहिरनमा देखिएका छन् । उनको छेउमा अभिनेत्री अञ्जना बराइली र अभिनेता आशान्त शर्मा पनि प्रस्तुत छन् ।
पोस्टरको पृष्ठभूमिमा एउटा घर देखिन्छ । घरभित्र अभिनेता सुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । यसले परिवारमा भएको कुनै वियोगपूर्ण घटनालाई संकेत गर्छ । पोस्टरमा आशान्त शर्मा पण्डितको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी किरियामा बसेको अवस्थामा प्रस्तुत छन् । अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट चिहाएर हेरिरहेको दृश्यमा देखिन्छिन् ।
पोस्टरका यी दृश्यले फिल्ममा पारिवारिक सम्बन्ध, मृत्युजन्य वियोग र त्यसले परिवारका सदस्यमा पार्ने भावनात्मक प्रभावलाई महत्त्वका साथ प्रस्तुत गरिएको संकेत गर्छन् ।
फिल्मको फर्स्टलुक पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् । पोस्टरमा समेटिएका पात्रहरू र परिवेशले फिल्मलाई सामाजिक तथा पारिवारिक धारको कथामा केन्द्रित गरेको देखाउँछ ।
फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा गरिएको हो । सहरी तथा ग्रामीण परिवेशलाई समेटेर छायांकन गरिएको फिल्मले नेपाली समाजको पारिवारिक जीवन र सम्बन्धका विभिन्न आयामलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।
अब फिल्मको ट्रेलर, गीत तथा अन्य प्रचार सामग्री सार्वजनिक भएसँगै यसको कथावस्तु र प्रस्तुतिबारे थप जानकारी प्राप्त हुनेछ ।






प्रतिक्रिया दिनुहोस्