काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबीच शुरु भएको रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै स्थानीय स्तरमा रोजगारी, व्यापार र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने बताउनुभएको छ ।
मंगलवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सरयू–कमला एक्सप्रेसले नेपाल र भारतबीचको हजारौँ वर्ष पुरानो धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई आधुनिक यातायात पूर्वाधारसँग जोडेको बताउनुभएको हो । उहाँले अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्नु दुई देशबीचको सम्बन्धका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो ।
रामजानकी विवाहको प्रसङ्ग उल्लेख गर्दै यादवले अयोध्या र जनकपुरबीचको सम्बन्ध दुई सहरबीचको सम्बन्ध मात्र नभई बेटी–जमाइँ, परिवार, संस्कृति, परम्परा र आस्थाको सम्बन्ध भएको बताउनुभयो । यस वर्षको विवाहपञ्चमीमा अयोध्याबाट आउने श्रद्धालु तथा भक्तजनलाई रेलमार्गबाटै जनकपुरधाम आउन सहज हुने उहाँको भनाइ छ ।
मन्त्री यादवले सरयू–कमला एक्सप्रेस सञ्चालनले जनकपुरधामको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने बताउनुभयो । धार्मिक पर्यटकहरू जानकी मन्दिर दर्शन गरेर मात्रै फर्किने नभई केही दिन जनकपुरमा बसेर मिथिलाको संस्कृति, कला, हस्तकला, खानपान र स्थानीय उत्पादनको अनुभव लिने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
रेल सेवाबाट होटल, रेस्टुरेण्ट, यातायात, हस्तकला, पर्यटन गाइड, होमस्टे तथा साना व्यवसायले लाभ लिनसक्ने उहाँको भनाइ छ । यसबाट नेपाल र भारतको मिथिला क्षेत्रका युवालाई सीप, पर्यटन, अतिथि सत्कार र उद्यमशीलतामार्फत रोजगारीका अवसर प्राप्त हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज हामी एउटा रेलगाडीको स्वागत मात्र गरिरहेका छैनौँ, दुई देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको पनि स्वागत गरिरहेका छौँ । म युवा, श्रम तथा रोजगारमन्त्रीका रूपमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटनसँगै सीप, रोजगार र उद्यमशीलताको पनि महत्वपूर्ण केन्द्र बनाउन प्रतिवद्ध छु । रेल दूरी घटाउँछ, अपनत्व बढाउँछ, पर्यटन बढाउँछ, व्यापार बढाउँछ र रोजगारी बढाउँछ ।’
उहाँले सरयू–कमला एक्सप्रेसले करिब ६०४ किलोमिटर दूरीलाई करिब १९ घण्टाको यात्रामार्फत जोड्ने जानकारी दिँदै यसलाई नेपाल–भारतबीचको यातायात सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो । कार्यक्रममा मन्त्री यादवले नेपालमा रेल सेवाको इतिहास पनि स्मरण गर्नुभयो । सन् १९२७ मा रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको र त्यसको करिव १० वर्षपछि जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
पुरानो रेल सेवा बन्द भएपछि नेपाल र भारत सरकारको सहकार्यमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तारको काम अघि बढेको र सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको उहाँले उल्लेख गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्