Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


चाडपर्वमा सुरक्षा चुनौती बढ्न नदिन प्रहरीको विशेष तयारी, ४०८ स्थानमा यात्रु सहायता कक्ष


0
Shares

काठमाडौं । तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा परिचालनलाई तीव्र बनाएको छ। सर्वसाधारणको आवागमन सुरक्षित बनाउनेदेखि चोरी, ठगी र अन्य आपराधिक घटना रोक्नसम्मका लागि प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो।

यस वर्षको चाडपर्वलाई लक्षित गरी प्रहरीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ। योजनाअनुसार बढी जोखिम देखिएका क्षेत्र पहिचान गरी प्रहरीको उपस्थिति बढाइएको छ। बजार, मन्दिर, यातायात केन्द्र, सीमा क्षेत्र तथा भीडभाड हुने सार्वजनिक स्थानमा विशेष निगरानी राखिएको छ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, जुवातास, लागुऔषध कारोबार तथा सेवन, मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्यवस्तुमा मिसावट र आगलागीलाई प्रहरीले प्रमुख जोखिमका रूपमा लिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले सम्भावित घटनालाई समयमै नियन्त्रण गर्न नियमित गस्तीका अतिरिक्त आकस्मिक जाँच र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको जानकारी दिएका छन्। सुरक्षा निगरानीका लागि सीसीटीभी, बडी क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिनेछ।

आपत्कालीन अवस्था आए तत्काल परिचालन हुन सक्ने द्रुत प्रतिकार्य टोली तथा विपद् व्यवस्थापनमा खटिने प्रहरी जनशक्तिलाई समेत तयारी अवस्थामा राखिएको छ।

यातायाततर्फ यात्रुको चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। ती कक्षमा कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएका छन्।

लामो दूरीमा चल्ने सवारीसाधनको यात्रालाई सुरक्षित बनाउन चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको अवस्था र सवारीको प्राविधिक अवस्थाबारे जाँच गरिनेछ। यस्ता सवारीमा दुई जना चालक राख्नुपर्ने नियम कार्यान्वयन भए–नभएको विषयमा पनि प्रहरीले अनुगमन गर्नेछ।

विशेषगरी चाडपर्वमा घर फर्किने तथा सीमा क्षेत्रबाट आवतजावत गर्ने यात्रु ठगी र लुटपाटको जोखिममा पर्न सक्ने भएकाले सहायता कक्षमार्फत उनीहरूलाई आवश्यक सहयोग र सुरक्षा उपलब्ध गराइने प्रहरीले जनाएको छ।

Skip This