Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


चक्रवात ‘अर्णव’को असरः तीन दिन भारी वर्षाको जोखिम


325
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा पर्यटकलाई भ्रमण नगर्न वा सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

भारी वर्षाका कारण पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र चिसो बढ्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

Skip This