एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ । उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पु¥याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न पनि आग्रह गर्नुभएको छ ।
एक विज्ञप्तिमार्फत उहाँले अबको समय स्थायी युद्धविराम, व्यापक मानवीय सहायता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने समय भएको बताउनुभयो । उहाँले सम्पूर्ण क्षेत्रमा स्थायी शान्तिका लागि राजनीतिक मार्ग तय गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
“यो वार्षिकोत्सव शोकको अर्को वर्ष मात्र नभई फरक भविष्य निर्माण गर्ने नयाँ दृढ सङ्कल्पको अवसर बनोस्”, उहाँले भन्नुभयो । उहाँका अनुसार इजरायली र प्यालेस्टिनी नागरिकले आफ्ना अधिकार, गरिमा र आकांक्षा पूरा गर्दै शान्ति र सुरक्षामा सँगै बस्न सक्ने अवस्था निर्माण गर्न आवश्यक छ ।
महासचिव गुटेरेसले सन् २०२३ को हमास आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायली तथा विदेशी नागरिकको हत्या र २५१ जनालाई बन्धक बनाइएको घटनालाई ‘घृणित’ भन्दै इजरायली पक्षमा भएको क्षतिलाई स्वीकार गर्नुभयो ।
साथै, गाजाका प्यालेस्टिनी नागरिकले ठूलो मानवीय क्षति, विस्थापन र विनाशको सामना गर्नुपरेको उहाँले बताउनुभयो । “उनीहरूको पीडा पनि अब अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो ।
गाजामा इजरायलले सञ्चालन गरेको लामो सैन्य अभियानमा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । उक्त मन्त्रालय हमासको नियन्त्रणमा रहेको भए पनि संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गर्ने तथ्याङ्कलाई भरपर्दो मान्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २०२५ मा घोषणा गर्नुभएको छोटो युद्धविरामले केही राहत ल्याएको गुटेरेसले स्वीकार गर्नुभयो । तर त्यसले अझै पर्याप्त सुरक्षा, मानवीय सहायता तथा पुनःस्थापना र शान्तितर्फ जाने विश्वसनीय मार्ग सुनिश्चित गर्न नसकेको उहाँले बताउनुभयो ।
इजरायलले गाजाको अधिकांश भागमा अझै नियन्त्रण कायम राखेको छ । हमासको निशस्त्रीकरण प्रमाणित नभएसम्म आफ्ना सैनिक फिर्ता नहुने इजरायलको अडान छ । हमासले भने आफ्ना हतियार तत्काल र एकपक्षीय रूपमा त्याग्नुपर्ने प्रस्तावको सट्टा क्रमिक निशस्त्रीकरणको पक्षमा रहेको बताएको छ ।
सन् २०२३ को आक्रमणपछि इजरायलले विभिन्न मोर्चामा सैन्य कारबाही गर्दै आएको छ । विशेषगरी तेहरानको समर्थन प्राप्त इस्लामवादी आन्दोलन हिजबुल्लाहविरुद्ध दक्षिणी लेबनानमा सैन्य कारबाही गरिएको छ । साथै, फेब्रुअरीको अन्त्यमा संयुक्त राज्य अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्