काठमाडौं । इजरायली सेनाले गाजा सहरमा गरेका पछिल्ला हवाई आक्रमणहरूमा प्यालेस्टिनी इस्लामिक जिहादका दुई प्रमुख कमाण्डर तथा एक आवासीय भवनमा चार महिलासहित पाँच जना सर्वसाधारण मारिएका छन् ।
इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले युद्धविराम सम्झौता उल्लंघन गरी सैन्य क्षमता पुनस्र्थापना गरिरहेको आरोप लगाउँदै लडाकु समूहका कमाण्डरहरूलाई निशाना बनाएको जनाएको छ भने अर्कोतर्फ आवासीय क्षेत्रमा भएको बमबारीको सर्वत्र निन्दा भएको छ ।
गाजा शहरमा शुक्रवार र शनिवार भएका श्रृंखलावद्ध हवाई हमलाहरूले युद्धग्रस्त क्षेत्रमा मानवीय तनाव थप चर्काएको छ । इजरायली सेनाद्वारा जारी आधिकारिक विज्ञप्तिअनुसार शुक्रवार इस्लामिक जिहादको रकेट संयन्त्र हेर्ने सुजैया बटालियनका कमाण्डर अहमद महमुद हर्ब रामलावी र एन्टी—ट्याङ्क मिसाइल समूहका प्रमुख मुनिर इब्राहिम मसरलाई लक्षित गरी मारिएको हो ।
सेनाले दुवै जनाले संगठनको सैन्य सामथ्र्य पुनर्निर्माण गर्न भूमिका खेलिरहेको दाबी गरेको छ । इजरायलले सर्वसाधारणको क्षति कम गर्न सटीक हतियार र हवाई निगरानी प्रयोग गरिएको जिकिर गरे पनि शनिवार बिहान पश्चिम गाजा शहरस्थित एक आवासीय अपार्टमेन्टमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।
प्यालेस्टिनी स्रोतहरूकाअनुसार अल–असाला भवनको भुइँतल्लामा भएको आक्रमणमा मारिनेहरूमा चार जना महिला रहेका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी अल–शिफा मेडिकल कम्प्लेक्समा पुर्याइएको छ । प्रत्यक्षदर्शी तथा स्थानीय बासिन्दाहरूले आवासीय भवनमा भएको बमबारीबाट ठूलो भौतिक क्षति भएको र भग्नावशेषमुनि अन्य व्यक्तिहरू पुरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
यसैबीच, इजरायलको सरकारी सञ्चारमाध्यम कान टिभीले रातभर गरिएको आक्रमणमा हमासका वरिष्ठ अधिकारी अली अल–अमौदीलाई लक्षित गरिएको बताए पनि यसको स्वतन्त्र पुष्टि इजरायली सेना वा हमास दुवै पक्षबाट हुन सकेको छैन। प्यालेस्टिनी विदेश मन्त्रालयले आवासीय भवनमा भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै यसलाई प्यालेस्टिनी नागरिकविरुद्ध इजरायलले गरेको निरन्तर ‘युद्ध अपराध’को संज्ञा दिएको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले पछिल्लो ४८ घण्टामा मात्र अस्पतालहरूमा सात शव र २० जना घाइते भर्ना भएको तथ्यांक सार्वजनिक गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्