Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सरकारप्रति श्रम संस्कृति पार्टीको असन्तुष्टिः ‘झुटको राजनीति बन्द गरी परिणाममुखी काममा लाग्नुस्’


0
Shares

काठमाडाैं ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गर्न चुनौती दिनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको हो । प्रमुख सचेतक राईले सरकारको सुशासनको प्रतिवद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाउनुभयो ।

राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराउनुभयो । भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि उहाँले प्रश्न गर्नुभयो ।

‘गिरिबन्धु टी–स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’ भन्दै उहाँले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिनुभयो । राईले आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारलाई स्मरण गराउँदै भन्नुभयो, ‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ । आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस् । आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन ।’

जेन–जी आन्दोलनलाई दमन गरेको भन्दै उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो । उहाँले सदन बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनैपनि ‘कुचेष्टा’ नगर्न सरकारलाई सचेत गराउँदै राईले आफ्नो दल सतर्क रहेको उल्लेख गर्नुभयो ।

Skip This