काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताउनुभएको छ ।
उहाँले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो । चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ । बन्द रहेको नाका खुलाउनको लागी चिनियाँ टोलीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपालतर्फका पहिरो प्रभावित सडकको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रमुख भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले सडकमा सुधार गर्नुपर्ने भएमा पनि एकदुई दिनमा नै सुधार गरि नाका सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । भण्डारीकाअनुसार वर्षायाममा समेत नेपालतर्फको सडकबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।
वर्षा रोकिएसँगै अहिले दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण चिनियाँ पक्षले सवारी आवागमन रोकेको भएपछि वास्तविक अवस्था त्यस्तो नरहेको उहाँको दाबी छ ।
नाका बन्द हुनुको कारण नेपालतर्फको सडकको अवस्था भएको भन्ने चर्चा चलेपछि चिनियाँ प्राविधिक टोलीसहितको संयुक्त अनुगमन गरिएको उहाँले बताउनु भयो । भण्डारीले नाका खुलेको अवस्थामा नेपालतर्फको सडकले सवारी आवागमनमा अवरोध नगर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन र त्यसलाई अलिकति सुधार गर्नुपर्ने भयो भने एक–दुई दिनमा हामीले त्यो सुधार पनि गर्छौँ । अहिलेसम्म बर्खा नै थियो । हामीले वान वे पास मजाले गरिरहेका थियौँ, त्यो वान वे पासलाई अहिले पनि समस्या छैन । बर्खा रोकिएपछि हामीले यसलाई टु वे पास गर्नसक्छौँ । अहिले चाइनाको तर्फबाट बाटो अप्ठ्यारो भएको कारणले गर्दा रोकियो भन्ने कुरो एउटा एक किसिमको म्यासेज गएको हामीले पायौँ । वास्तवमा त्यो थिएन, गाडीहरु पास भएकै थिए र भएका पनि छन् । हामीले यही बिचमा पनि ५७ वटा ती ४५ फुटे कन्टेनरहरु पास गर्यौँ। र यहाँका लोड भएका अडिएका सबै पास गरिसकेका छौँ । त्यसैले गर्दाखेरि अब पास गर्नलाई समस्या होइन । अब केही दुईतर्फी दुईतर्फी सञ्चालन गर्नको लागि पनि हामीले एक–दुई दिन, बढीमा चार दिनको समय पाएमा हामी यो गर्छौँ। हामीले दुई–तीन दिनमा यो सबै क्लियर गर्छौँ । त्यसैले गर्दा यहाँबाट गाडी जुनसुकै गाडी, जुनसुकै लोडका गाडी र जुनसुकै गाडीहरु पनि यहाँबाट लैजानका लागि हामी चाहिँ तयार छौँ । नाका खोलेको अवस्थामा एक घण्टा पनि गाडी रोकिने अवस्था छैन । सरासर गाडीहरु जाने अवस्था छ । नाका खोल्यो भने बाटोले रोकिने अवस्था छैन ।’
यसबीचमा ४५ फिटका ५७ वटा कन्टेनरसमेत नेपालतर्फबाट पास गरिएको उहाँको भनाई छ । उहाँले बाटोमा अड्किएका लोडेड सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाइसकिएको बताउनुभयो ।
सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । कोदारी राजमार्गमा पहिलो गएपछि तातोपानी नाका बन्द रहेको छ । यस्तै भदौ १० गतेको रसुवा बाढीका कारण केरुङ नाका र हालैको बाढीले पहिरो जाँदा मुस्ताङका कोरला नाका समेत बन्द रहेको छ ।
चीनतर्फका मुख्य नाका बन्द भएपछि सरकारले तातोपानी नाका संचालनको लागी पहल गरिररहेको छ ।










प्रतिक्रिया दिनुहोस्