काठमाडौं । नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नगराइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य, एजेन्डा र उपलब्धिबारे संसदलाई जानकारी नगराइएको बताउनुभयो।
प्रधानमन्त्री कार्यकारी प्रमुखसँगै प्रतिनिधिसभाबाट निर्वाचित सदस्यसमेत भएकाले आफ्ना गतिविधिबारे सदनप्रति जवाफदेही हुनुपर्नेमा उहाँले जोड दनिुभयो।
राष्ट्रसंघजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा भ्रमणअघि र भ्रमणपछि संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाँको आरोप थियो।
‘प्रधानमन्त्रीज्यू विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताका बारेमा जानकारी गराउनु पर्दथ्यो । साथै, फर्किएपछि पनि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसद्लाई जानकारी गराउनुपर्ने संसदीय परम्परा हो,’ उहाँले भन्नुभयो।
संसद्लाई जानकारी नदिई गरिने विदेश भ्रमणले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्ने बताउँदै सांसद हमालले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउनुभयो। उहाँले सरकारका कामकारबाही पारदर्शी र संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै भविष्यमा यस्ता विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो।









प्रतिक्रिया दिनुहोस्