Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति सांसद राईको असन्तुष्टि


0
Shares

काठमाडाैं ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कार्यशैली र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीका सन्दर्भमा समेत प्रश्न उठाउनुभएको हो । सांसद राईले विपद्को समयमा सरकारले एक्लै अघि बढ्नुको साटो सबै राजनीतिक दल र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विस्थापितहरूको व्यवस्थापनबारे चिन्ता व्यक्त गर्दै सांसद राईले राहत शिविरमा रहेका बालबालिका, महिला, वृद्ध र बिरामीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सरकारलाई आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो विपद्को अवस्थामा म सरकारको आलोचना गर्न उभिएकी होइन, तर सबै तहमा समन्वय नहुँदा समस्या समाधान हुन सक्दैन । अपराधीलाई कारबाही हुनुपर्छ, यसमा दुईमत छैन । तर कानूनको धज्जी उडाउँदै, बिनापूर्जी र गैरकानुनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा हो ।’

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रसंग उठाउँदै उहाँले सरकारको कदमलाई ‘तानाशाही र अलोकतान्त्रिक’ को संज्ञा दिनुभयो । सत्ता सञ्चालकहरूलाई इतिहासको पाठ स्मरण गराउँदै दमन र अन्यायले अन्ततः प्रतिवादलाई नै जन्म दिने चेतावनी दिनुभयो ।