Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना एक सातादेखि सम्पर्कविहीन


0
Shares

अर्जुन बोहरा, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका १० जना जडीबुटी संकलनका लागि वन क्षेत्रमा गएको एक साताभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्।

खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमावर्ती वन क्षेत्रमा जडीबुटी संकलन गर्न गएका उनीहरू लामो समयसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारको पहल थालिएको हो।

घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीनको खोज तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ भने प्रदेश सरकार र संघीय सरकारको गृह मन्त्रालयलाई समेत जानकारी गराउने तयारी छ।

आफन्त ग्वामसिंह भण्डारीका अनुसार जडीबुटी संकलनका लागि गएका उनीहरू एक साताभन्दा बढी समयदेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित छन्। दुर्गम वन क्षेत्रमा तत्काल खोजी टोली परिचालन गर्नुपर्ने माग आफन्तले गरेका छन्।

सम्पर्कविहीन हुनेमा बलिवान बोहरा, जुन बोहरा, गोरासिंह भण्डारी, धनपुरी भण्डारी, धनमानसिंह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी र खिम भण्डारीसहित १० जना छन्।