काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उहाँले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि गरिएको सुरक्षा व्यवहारलाई लिएर सरकारले ‘बाटो बिराइरहेको’ भन्दै गम्भीर प्रश्न उठाउनुभएको हो ।
सांसद गिरीले दशैँ–तिहारको मुखमा सार्वजनिक यातायातमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाउनुभयो ।
उहाँले उचित व्यवस्थापन नगरी हतारमा निकालिएको यस सूचनाले सर्वसाधारणलाई थप सास्ती दिने भन्दै यस्तो निर्णयको आधार खोज्नुपर्ने बताउनुभयो । उहाँले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीलाई लिएर सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउनुभयो ।
सांसद गिरीले भन्नुभयो, ‘व्यक्तिलाई सुरक्षा दिनुपर्ने अवस्थामा पक्राउ गरेर लगिनु दुःखद् हो । थुनामा रहेका व्यक्तिलाई भेट्न मानव अधिकारकर्मीहरूलाई समेत रोक लगाउनु कानून र विधिको उपहास हो ।’
हालैको अविरल वर्षा र बाढी–पहिरोका कारण भएको जनधनको क्षति न्युनिकरणमा सरकारले देखाएको तदारुकता अपुग रहेको उहाँले जिकिर गर्नुभयो ।
सरकारले सदनमा गरिएका बहस र छलफलका मर्मलाई आत्मसात गर्न नसकेको आरोप लगाउँदै उहाँले सरकारले गरेका वाचाहरू अलपत्र परेको दाबी गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्