Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बाढी पहिरोका घटनामा देशभर २१ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारी वर्षापछिको बाढी र पहिरोका घटनामा परी देशभर २१ जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छ । पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो ।

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लाबाट जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५०० दशमलव २ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।