Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


भोटेकोशी–त्रिशूली बाढी : वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति


0
Shares

काठमाडाैं ।

भदौ १० गतेको रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

आइतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ ।

उहाँले बाढमिा परी पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नुपरेको बताउनु भयो । बाढीमा परी गाइड, पोर्टर तथा सहयोगी भुमिकामा कार्यरत १ सय ८८ जनाभन्दा बढीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । होटलमा कार्यरत २ सय १४ जनाको मृत्यु भएको विवरणसमेत प्राप्त भएको उहाँले बताउनुभयो ।

धमलाले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने उल्लेख गर्दै पीडित परिवारको पुनःस्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले विपद्पछिको पुनःस्थापनाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल पर्यटन बोर्ड विगत केही समय यता रिभाइटेलाइजेसनको कुरादेखि त्यसको आम्दानी र खर्चको विषलाई पनि डिजिटलाइज गर्ने र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नका लागि अगाडि बढिरहेको छ । हामी अहिले विपद्को एउटा घडीमा छौँ । बागमती प्रदेशले नै यसपालीको विपद्मा झन्डै १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय या साना मझौला होटलहरु गुमाउन पुग्यो । झन्डै ६५ भन्दा बढी रेस्टुरेण्टहरु गुमाउन पुग्यो ।

त्यही क्षेत्रमा पथप्रदर्शक तथा सहयोगी भुमिकामा काम गर्नुहुने १ सय ८८ भन्दा बढी हाम्रा होनहार दाजुभाई दिदीबहिनीहरु गुमाउन पुग्यो । होटलमै काम गर्ने झन्डै २ सय १४ जनाको आँकडा हामीले प्राप्त गरेका छौँ । पक्कै पनि त्यो मानवीय क्षति कुनै मूल्यसँग तुलना हुँदैन । तर पनि उहाँहरुको परिवारको पुनःस्थापनाको लागि एउटा विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ ।

मलाई लाग्छ माननीय मन्त्रीज्यूले यस विषयमा एकदमै ध्यानाकर्षण गर्नुहुनेछ र नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने क्रममा अहिले पछिल्लो क्रममा हामी यो क्विक रेस्पोन्स टिम भनेर एउटा गठन गरेर कसरी विपद् न्युनिकरण तथा प्रतिकार्य गर्न सकिन्छ भनेर काम गरिरहेको अवस्था पनि छ । मलाई के लाग्छ भने झन्डै वागमती प्रदेशले पर्यटकीय क्षेत्रमा मात्र झन्डै ५२ अर्बभन्दा बढीको हाम्रो एस्टिमेटेड अजम्सनमा नोक्सानी ब्यहोरेको अवस्था छ ।

त्यसलाई परिपूरण गर्नका लागि आगामी दिनमा वागमती प्रदेशले विशेष कार्यक्रम गर्नेछ र नेपाल पर्यटन बोर्ड अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले आफ्नो भएका स्रोत र सुविधाहरुलाई म्याक्सिमम प्रयोग गरेर एकीकृत ढंगबाट पुनःस्थापना र पुनरुत्थानका कामहरु गर्नुपर्छ ।’

उहाँले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नेपाल पर्यटन बोर्डले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेर काम अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइरहेको समेत जानकारी दिनुभयो ।

Skip This