Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नालामा डुबेर कञ्चनपुरमा एक जनाको मृत्यु


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका -६ स्थित भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका-६ का अन्दाजी ३९ वर्षीय महेश केसी रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार केसी असोज १० गते रातिदेखि सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यले घरबाट करिब एक सय मिटर पश्चिमतर्फ रहेको भङ्गी नालामा डुबेको हुन सक्ने जानकारी गराएपछि खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीता कुमारी चौधरीको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायव निरीक्षक टेकबहादुर विष्टको कमाण्डमा ११ जना तथा स्थानीय १५-२० जनाको टोलीले खोजी थालेको थियो ।

आइतबार मध्यान्ह १२ बजेदेखि खोजी सुरु गरिएकोमा १२ बजेर १५ मिनेटमा नालामा रहेको कल्भर्टबाट करिब ५० मिटर दक्षिणतर्फ केसीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी, बेलौरी पठाइएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले जानकारी दिनुभयो ।

पछिल्लो समय निरन्तरको वर्षाका कारण कञ्चनपुरका नदी तथा खोलानालामा पानीको बहाव बढिरहेको छ । भङ्गी नालामा डुबेर एक जनाको मृत्यु भएपछि वर्षाका बेला खोलानाला तथा तटीय क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ ।

बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख तथा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेयले पानीको बहाव बढेका बेला खोलानाला तथा तटीय क्षेत्रमा नजान स्थानीयलाई आग्रह गर्नुभएको छ । उहाँले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई जोखिमयुक्त खोलानाला आसपास जान नदिन र वर्षाका बेला आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

Skip This