काठमाडाैं । काठमाडाैंको बसन्तपुरमा बुधबार बिहान इन्द्रध्वजासहितको यःसिं अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ।
बुधबार बिहान ७ बजेर ४७ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गरी काठमाण्डौ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा बुधबारदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया अर्थात इन्द्रजात्रा यहि असोज १३ गतेसम्म संचालन हुने भएकाे हाे ।
इन्द्रजात्रा अन्तर्गत असोज ९ गते कुमारी रथ यात्रा अन्तर्गत तल्लो टोलयात्रा प्रारम्भ हुने भएकाे छ।असाेज १० गते माथिल्लो टोलमा रथ यात्रा हुने भएकाे हाे। असोज १३ गते मंगलबार नानिचा यात्रासँगै राति ९ बजेर २५ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा समापन हुने भएकाे छ।
बुधबारैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव र समयबजी सजाएर राख्ने लगायतका परम्परागत साँस्कृतिक मूर्ति-नाच जस्ता धार्मिक गतिविधि हुने गर्छन् ।


























प्रतिक्रिया दिनुहोस्