Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जापानी सम्राट नारिहितोद्वारा २० औं एशियाली खेलकुदको औपचारिक उद्घाटन


91
Shares

काठमाडौं । २०औं एशियाली खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ ।

जापानको नागोयामा रहेको मिजुहो रङ्गशालामा शनिबार आयोजित विशेष समारोहमा जापानी सम्राट नारिहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एशियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुई पटक एशियाली खेलकुद र पाँच वर्षअघि ओलम्पिक आयोजना गरिसकेकाले यस पटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभएकाे छ।

जापानले यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एशियाली खेलकुद आयोजना गरिसकेको हाे । औपचारिक उद्घाटन शनिबार भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरु भइसकेका छन् । विभिन्न ५४ वटा खेल स्थलमा सञ्चालन हुने यस पटकको एशियाली खेलकुदमा ४५ देश र एउटा शरणार्थी टोलीका खेलाडीहरूले ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा १५ हजार खेलाडी र अफिसियलसहित कूल १७ हजार जनाको सहभागिता रहनेछ । आयोजक जापानबाट ९ सयभन्दा बढी, चीनबाट ८ सय भन्दा बढी र दक्षिण कोरियाबाट झन्डै ८ सय खेलाडी सहभागी हुँदैछन् । यस पटक नेपालका तर्फबाट २१ खेलमा ५७ महिलासहित कूल १३५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोहको ’मार्च पास’ मा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले यस पटक कम्तीमा एक स्वर्ण पदक जित्ने लक्ष्य राखेको हाे । जसअन्तर्गत कराँते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ ।

Skip This