काठमाण्डौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक दुईतर्फी सवारी साधन सञ्चालन भएकाे छ।
जिल्ला प्रशासन कार्यालय धादिङले यहि भदौ १० र १४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्याक बनाएर बिहीबार बिहानदेखि सवारी साधन सञ्चालन भएकाे हाे। सडक खण्डमा गएरातिदेखि नै गाडी आवतजावत भएको र अहिले बिहानदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। बुधबार कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यो पहिरो पनि पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको हाे।
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अरु अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुराेध गरेकाे हाे।
सडकको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न समेत प्रहरीले आग्रह गरेको छ। प्रहरीले कृष्णभीरको सडक सञ्चालनसँगै नारायणगढ-मुग्लिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाडीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरु भएको जनाएको हाे।









प्रतिक्रिया दिनुहोस्