पाेखरा । पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि पाँच ट्रक राहत सामग्री पठाएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ताकपडा, सिरक–ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकरलगायतका सामग्री पाँचवटा बोरामा प्याक गरिएको छ । यसरी १ सय ६५ घरपरिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर पाँच ट्रकमार्फत पठाइएको हो ।
रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी पाएपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तरगयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताउनुभयो ।
राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका २३ जना नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन् । टोलीले पालिकाले तोकेका स्थान तथा आवश्यकता पहिचान भएका परिवारसम्म आफैं पुगेर राहत सामग्री वितरण गर्नेछ । भौगोलिक तथा सडकको अवस्थाका कारण पोखराबाट हेटौँडा हुँदै राहत सामग्री उत्तरगया पठाइएको महानगरले जनाएको छ ।
यसअघि विपद् भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी र नगर प्रहरीसहितको दुईवटा टोली प्रभावित क्षेत्रमा पठाएको प्रमुख आचार्यले बताउनुभयो । ती टोलीले गल्छीदेखि तल्लो क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य उपचारको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेर फर्किएको उनले जानकारी दिनुभयो ।
महानगरपालिकाले विपद्को शुरुवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट ४५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । पोखराका विभिन्न समाजसेवी तथा संघसंस्थाबाट संकलित राहत सामग्री पनि प्रदर्शनी केन्द्रमा जम्मा गरिएको थियो ।
संकलित सामग्रीमध्ये अधिकांश सामग्री पाँच ट्रकमार्फत उत्तरगया पठाइएको आचार्यले बताउनु भयो । प्रमुख आचार्यले भन्नुभयो, ‘घटना भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी र नगर प्रहरीसहितको टोली राहत, उद्धार तथा स्वास्थ्य उपचारका लागि प्रभावित क्षेत्रमा पठाएको थियो । टोलीले गल्छीदेखि तल्लो क्षेत्रमा राहत, उद्धार र स्वास्थ्य सेवामा नेतृत्वदायी भुमिका निर्वाह गरेर फर्किएको छ ।
महानगरपालिकाले सुरुमै ४५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । साथै पोखराका विभिन्न संघसंस्था र समाजसेवीबाट संकलित राहत सामग्रीमध्ये १ सय ६५ परिवारलाई पुग्ने गरी भाँडाकुँडा, लत्ताकपडा, ब्ल्याङ्केट, खाद्यान्नलगायत आवश्यक सामग्री प्याकेज तयार गरिएको छ । आज छ ट्रक राहत सामग्री २३ जना नगर प्रहरी र कर्मचारीसहित रसुवाको उत्तरगयातर्फ पठाइएको छ । स्थानीय प्रशासन र पालिकासँग समन्वय गरी टोलीले आवश्यक स्थानमै पुगेर राहत सामग्री वितरण गर्नेछ ।
औषधि भने नेपाली सेनामार्फत विजयपुर ब्यारेकबाट छुट्टै पठाइएको छ । राहत अभियानमा सहयोग गर्ने सबै संघसंस्था, समाजसेवी तथा महानगरवासीलाई धन्यवाद दिँदै टोलीलाई प्रभावकारी रूपमा परिचालन भई सुरक्षित रूपमा काम सम्पन्न गरेर फर्कन शुभकामना व्यक्त गर्दछौँ ।’ औषधि भने नेपाली सेनामार्फत छुट्टै पठाइएको छ । विजयपुर ब्यारेकमार्फत औषधि प्रभावित क्षेत्रमा पठाइएको महानगरले जनाएको छ ।
राहत सामग्री पारदर्शी रूपमा वितरण गर्न प्रत्येक गाडीमा महानगरको वाकीटकी राखिएको र कुन सामग्री कहाँ तथा कसलाई वितरण गरियो भन्ने विवरणसहितको अभिलेख तयार पारिएको प्रमुख आचार्यले बताउनुभयो । राहत तथा उद्धार टोलीलाई बिदाइ गर्दै आचार्यले प्रभावित नागरिकसम्म सामग्री सुरक्षित रूपमा पु¥याएर वितरण गर्न आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्