Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


काँग्रेस एकजुट भएर १५ औँ महाधिवेशनमा जान्छ : सचेतक राई


0
Shares

काठमाडाैं ।
नेपाली काँग्रेसका सचेतक निश्कल राईले पार्टी एकवद्ध भएर १५ औँ महाधिवेशनमा जाने बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र रहेका सबै प्रकारका विचार र सबैको अस्तित्वलाई स्वीकार गदै छलफल तथा मन्थनबाट निष्कर्षमा पुग्न सकिने बताउनुभयो ।

उहाँले अहिले पनि पार्टीभित्र देखिएको समस्या समाधानका लागि शीर्ष तहका नेताहरु छलफलमा जुटिरहेको बताउनु भयो । फरक प्रसंगमा बोल्दै उहाँले प्रतिपक्षी दलहरुको शालीनता र मौनतालाई कमजोरी नठान्न समेत सरकारलाई चेतावनी दिनुभयो । उहाँले उत्तेजित ढंगले समाज अगाडि बढ्न नसक्ने दृष्टान्त प्रपिपक्षी दलहरुले दिन खोजिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षीको मौनता तथा संयमित उपस्थिति उसको कमजोरी होइन । हामी शालीन ढंगले समाजलाई अगाडि बढाउनुपर्छ भन्नेमा नै छौँ । उत्तेजनाबाट समाज अगाडि जान सक्दैन भन्ने कुराको दृष्टान्त पनि हामीले दिन खोजिरहेका छौँ । काँग्रेस फट्दैन । हामी सधैंभरी वाक स्वतन्त्रताको कुरा गर्ने, विचार र अस्तित्वलाई पनि स्वीकार गर्नसक्ने भएको कारण छलफल र मन्थन गरेर त्यहाँबाट आएको निष्कर्षलाई आत्मसाथ गर्छौैँ ।

लोकतान्त्रिक प्रक्रियाबाट आएको निर्णयलाई आत्मसाथ गर्ने हो । हाम्रो आइडोलोजी पनि त्यो हो । हामी एकजुट भएर नै अधिवेशनमा जान्छौँ ।’ उहाँले जेन–जी आन्दोलनको एजेण्डाअनुसार सरकार अगाडि बढ्न नसकेको टिप्पणी पनि गर्नुभयो ।