Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


सडक नै प्रतिक्षालय, सिलिण्डर नै कुर्सी


13
Shares

काठमाडाैं ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता– ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’

बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि आन्तरिक राजश्व कार्यालय र बैंकका एटीएम बुथहरू रहेको साँघुरो सडक सोमवार मानिस र ग्यास सिलिन्डरको विशाल संगम बनेको थियो । लामवद्ध उभिएका मानिसहरूको हातमा नेपाल ग्यास, एसटीलगायत कम्पनीका रित्तो रातो सिलिण्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेर थकित नागरिकहरू आफ्नै रित्तो सिलिण्डरमाथि नै बसेर पालो कुरिरहेका देखिन्थे ।

कतिपयले नीलो, कालो र बुट्टेदार छाता ओढेर चर्को घामको राप छल्ने निष्फल प्रयास गरिरहेका थिए भने कतिपय रूखको थोरै छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले गहभरि आँशु पार्दै भने, ‘बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । यस्तो चर्को घाममा भोकै–तिर्खै लाइन बस्नुबाहेक हामी गरिब जनतासँग अर्को के विकल्प छ र ?’ तातो सडकमा घण्टौँ कुर्नु नागरिकको रहर होइन, भोकले सुकेको चुल्हो बाल्ने एकमात्र विवशता हो ।

ग्यास वितरण केन्द्रमा भीड यति अनियन्त्रित थियो कि सुरक्षाकर्मीहरू लाम मिलाउन र गेट बन्द गरेर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । जहाँ सयौँ एलपी ग्यासका सिलिण्डरहरू चर्को घाममा एकै ठाउँमा थुप्रिएका थिए । कम्पनीका प्रतिनिधिहरू कापी र कलम लिएर नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । तर ग्यास बोकेको ट्रकको क्षमता सिमित थियो र पालो पर्खनेहरूको लाम अनन्त जस्तै देखिन्थ्यो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने डरले नागरिकहरूको अनुहारमा बेचैनी प्रष्ट झल्कन्थ्यो ।

घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैको हातमा भरिएको नयाँ सिलिन्डर पर्दथ्यो, त्यो दृश्य हेर्नलायक हुन्थ्यो । त्यो केवल १४.२ किलो ग्यास र १५ किलो फलामको सिलिण्डर मात्र थिएन, त्यो त आफ्ना भोका सन्तानलाई तातो भात खुवाउन पाउने खुशी थियो । संघीय राजधानीकै सडकमा एक सिलिण्डर ग्यासका लागि नागरिकले दिनभर पसिना बगाउनुपर्ने यो दृश्यले राज्य सञ्चालकहरूको संवेदनहीनतालाई नङ्ग्याइदिएको छ ।

बालाजुको सडकमा देखिएको यो कारुणिक दृश्य कुनै नौलो भने होइन । जब–जब आपूर्ति प्रणालीमा गडबडी हुन्छ वा कालोबजारी मौलाउँछ, त्यसको प्रत्यक्ष मारमा यस्तै निर्दोष, श्रमजीवी र आम नागरिक पर्ने गर्छन् । नागरिकले कर तिरेका छन्, सिलिन्डरको पूरा मूल्य तिरेका छन् ।

तर बदलामा उनीहरूले पाइरहेका छन्, चर्को घामको राप, सुरक्षाकर्मीको लाठीको त्रास, र सडकमा अपमानित भएर घण्टौँ बस्नुपर्ने विवशता । सम्बन्धित निकाय र नेपाल आयल निगमले तुरुन्तै ग्यास आपूर्तिलाई पारदर्शी र टोल–टोलमा सहज बनाउनुपर्छ । नागरिकको चुल्हो बल्नबाट रोक्ने यो चरम लापरवाहीको जवाफदेहिता कसले लिने ?