Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


कञ्चनपुरमा बाढी-डुबान र कटानको जोखिम बढ्यो (तस्बिरसहित)


403
Shares

प्रकाश भट्ट-संवाददाता

कञ्चनपुर । निरन्तरको अविरल वर्षाका कारण कञ्चनपुरमा बाढी, डुबान र कटानको जोखिम बढेको छ।

चुरे क्षेत्रमा भइरहेको भारी वर्षासँगै महाकाली, दोदा-मछेली लगायतका नदी तथा खोलामा पानीको सतह बढेपछि जोखिम बढेको हो। कञ्चनपुरका विभिन्न क्षेत्रमा सोमबार पनि वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहावसमेत बढ्दै गएको छ । वेदकोट नगरपालिका-३ र ४ जोड्ने बैतडास्थित घटालथानको झोलुङ्गे पुलसमेत बाढीले बगाएको वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले बताउनुभयाे।

जोखिम बढेपछि पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन शाखाले एसएमएस र आइभीआरमार्फत सूचना जारी गर्दै रातोताल, सिमरी, दशरथबस्ती र विकासबस्ती लगायतका तटीय बस्तीका नागरिकलाई उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोला किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न नगरपालिकाले अनुरोध गरेको हो ।

महाकाली नदीमा पानीको बहाव पनि एक लाख क्युसेक भन्दा माथि रहेको छ । बहाव लगातार एक लाख क्युसेकमाथि रहेकाले गड्डाचौकी–बनबासा नाकाबाट चारपांग्रे सवारीसाधनको आवागमन ७ दिनदेखि बन्द रहेकाे हाे । उच्च बहावका कारण सीमा क्षेत्रमा हुने यात्रु आवागमनसँगै व्यापार तथा मालसामानको आयात-निर्यातसमेत प्रभावित भएको छ ।

त्यस्तै, दोदा नदीमा पानीको बहाव बढ्दा लालझाडी, बेलौरी र पुनर्वासका तटीय बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको हाे । सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड क्षेत्रमा समेत वर्षा जारी रहेकाले नदी तथा खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना छ । सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी तथा खोलानाला किनारमा उच्च शतर्कता अपनाउन आग्रह गरेको हाे।

प्रशासनले नदी तर्ने, माछा मार्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न र जोखिम बढेमा सुरक्षित स्थानतर्फ जान समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;