Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


बाढीले बगाएकाे स्थानमा पुल जडान सुरु


0
Shares

काठमाडाैं । मेची करिडोर सडकअन्तर्गत भञ्ज्याङ् –बेलासे खण्डमा पर्ने पुवाखोलामा मोडुलर बेलीब्रिज जडान गर्ने काम सोमबारदेखि सुरु भएको छ।

पुल निर्माण नहुँदा लामो समयदेखि डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको सडकमा अब स्थायी रूपमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सोमबारदेखि बेलीब्रिज जोड्ने काम सुरु गरिएको हो। उहाँका अनुसार भदौ महिनाभित्रै पुल जडान सम्पन्न गरी सवारी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ। जडान हुदै गरेको पुलको लम्बाई ७० मिटर रहेको छ ।

गत वर्ष असोजमा आएको बाढीका कारण पुवाखोलामा यसअघि जडान गरिएको बेली ब्रिज बाढीले बगाएको थियो। पुल बगेपछि सडकमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो। तर वर्षायाममा खोलामा पानीको बहाव बढ्दा डाइभर्सनबाट समेत सवारी आवागमन प्रभावित हुँदै आएको थियो।

पुल नहुँदा इलामसहित पाँचथर र ताप्लेजुङतर्फ आवतजावत गर्ने यात्रु तथा स्थानीय नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका थिए। विशेषगरी बाढीको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म बाटोमै रोकिनुपर्ने अवस्था सिर्जना हुने गरेको थियो।

पुवा खोलामा बेली ब्रिज सञ्चालनमा आएपछि मेची करिडोर सडकमा यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। यो सडकलाई मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत हेरिएको छ।

मेची करिडोर सडक निर्माण सम्पन्न भएपछि इलामबाट झापासम्मको दूरी करिब ४८ किलोमिटरमा सीमित हुने बताइएको छ। हालको मेची राजमार्गको तुलनामा छोटो दूरीको मार्गका रूपमा विकास भइरहेको यस सडकमा आवश्यक खोलाहरूमा पक्की पुल निर्माण सम्पन्न हुँदै गएमा इलाम र झापाबीचको दूरी तथा यात्रा समयसमेत घट्ने अपेक्षा गरिएको छ।

पुवाखोलामा बेलीब्रिज जडान सम्पन्न भएसँगै वर्षायाममा समेत यातायात सञ्चालनमा सहजता आउने र इलाम, पाँचथर तथा ताप्लेजुङका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।