काठमाडाैं । रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेंसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ ।
फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङवेशी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालकाअनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो । त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् ।
ठूला सवारीसधान सञ्चालनको लागी भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको उहाँको भनाई छ । केही खण्डमा सडक सामान्य अवस्थामा रहेपनि बाढीले वास आउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो । ती खण्डमा लेदो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना बनाउने काम भइरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बाढीले धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकामसँगको हाम्रो सडक सम्पर्क विच्छेद भएको अवस्था थियो । त्यसपछि धादिङबेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरेर राइट बैंकतर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ । अहिले मोटामोटी रूपमा काम सम्पन्न भइसकेको छ, मेसिनहरू शुक्राबार देखि नै परिचालन गरिएका थिए ।
अहिले साना सवारीसाधनहरू यही बाटो हुँदै धादिङबेंसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भइसकेको छ । यसलाई अझ सहज बनाउने प्रयास भइरहेको छ । अप्ठ्यारा खण्डहरूमा समेत ग्राभेल राखेर साना सवारीसाधनका लागि सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ । खोला भएका स्थानमा कल्भर्ट बनाउनुपर्ने अवस्था भएमा ढुङ्गा मिलाएर त्यहाँबाट सवारीसाधन सहज रूपमा पार हुने व्यवस्था गरिरहेका छौँ ।
केही स्थानमा ग्राभेल आवश्यक पर्ने देखिएको छ । नजिकै ग्राभेलको स्रोत भेटिएमा त्यसलाई उपयोग गरेर लेदो र हिलो भएका स्थानमा ग्राभेल हाल्दै सवारीसाधनको आवतजावत सहज बनाउने तयारी भइरहेको छ । अहिले दुईवटा मेसिन साइटमै छन् भने अन्य साइटहरूमा पनि आवश्यक उपकरणहरू परिचालन भइसकेका छन् । साना सवारीसाधनका लागि बाटो खुलिसकेको छ । अन्य सवारीसाधनलाई समेत सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ ।’ सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक संचालन गर्नको लागी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अन्य क्षतिग्रस्त स्थानमा समेत आवश्यक उपकरण परिचालन गरिएको उहाँको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्