Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


रसुवा भोटेकोशी बाढी: पाँचौं दिन पनि खोज तथा उद्धार कार्य जारी


169
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यहि भदाै १० गते आएको बाढीपछि प्रभावितको खोज तथा उद्धारको काम पाँचौं दिन पनि जारी रहेकाे छ।

सरकारले बाढीपछि सम्पर्कविहीन भएकाहरुको खोज तथा उद्धारको काम निरन्तर रुपमा जारी रहेकाे जनाएको हाे। जलविद्युत आयोजनाको सुरुङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम भैरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढाउँदै लगेको जानकारी दिनुभयाे । उहाँले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार थप हेलिकाेप्टरहरू तयारी अवस्थामा राखिएका छन् । तर भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकै पटक धेरै उडान भर्न नसकिएको बताउनुभयाे ।

प्रधानमन्त्री शाहले खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग लिइरहेको जानकारी दिनुभएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाको सुरुङ, जंगल र भिरपखेरामा आश्रय लिएर बसेकाहरु अझै उद्धारको पर्खाईमा छन् । परिवार तथा आफन्तहरूले स्याफ्रुबेँसी, लाङटाङ, चिलिमे तथा त्रिशूली जलविद्युत् आयोजनाका सुरुङभित्र आफ्ना मान्छे रहेको भन्दै जानकारी गराएका हुन् ।

उद्धारको काम प्रभावकारी बन्न नसकेको परिवार तथा आफन्तहरुको गुनासो छ । कतिपय विस्थापितहरुले राहत पाउन नसकेको गुनासो पनि गरेका छन् । बिकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यानाकर्षण गराएका हुन् ।