Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


ओखलढुंगाकाे चार्खुमा २ घरमा आगलागी, २६ लाख बराबरकाे क्षति


0
Shares

ओखलढुंगा। ओखलढुंगामा विद्युत सर्ट भएर आगलागी हुँदा २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

सिद्धिचरण नगरपालिका-४ चार्खुमा मंगलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गाह्रो र खरको छानो भएको दुई तले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हाे । उक्त आगो फैलिएर उहाँकी बुहारी ज्ञानकुमारी कार्कीको दुई तले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभएकाे छ।

मंगलबार साँझ पाैने ७ बजेदेखि शुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण कोटमायाको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुन जस्तो देखिने गहना र २० हजार नगद जलेर नष्ट हुँदा करिब १२ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै, ज्ञानकुमारीको पनि घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुन जस्तो देखिने गहना र ५० हजार नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँकाे क्षति भएको प्रहरीले जनाएको हाे। आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभएकाे छ।