काठमाडाैं । आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् ।
नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त ¥यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध ¥यालीले नगरका मुख्य सडकहरूको परिक्रमा गरेको थियो ।
¥यालीपश्चात सहभागीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल ढोका अगाडि पुगेर धर्ना दिएका थिए । प्रदर्शनका क्रममा बोल्दै मुक्त हरवा–चरवा संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले मुक्त घोषणा गरे पनि आफूहरूको अवस्थामा सुधार नआएको गुनासो गर्नुभयो ।
संघर्ष समितिका प्रतिनिधिहरूकाअनुसार सरकारले हरवा–चरवा प्रथा अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा भने अझै धेरै व्यक्तिहरू भूमि, आवास र सामाजिक सुरक्षाबाट वञ्चित रहेका छन् । उनीहरूले घोषणाको कार्यान्वयन फितलो हुँदा मुक्त हरवा–चरवाहरू पुनः संकटमा परेको उल्लेख गरे ।
समितिले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि भदौ १० गते बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिने तयारी गरिएको छ । बुधवार नै प्रदेश सरकारलाई मागपत्र बुझाउँदै आफ्ना समस्या तत्काल सम्बोधन गर्न दबाब दिइने संघर्ष समितिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्