काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाकाे बारेमा लाल आयोगले तयार पारेको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएकाे छ।
सभापति थापाले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे माग गर्नुभएकाे हाे। आयोग गठन भएको एक दशक बित्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्य-तथ्य बाहिर आउन नसकेको उहाँकाे ठहर छ। न्याय पाउनबाट पीडित वञ्चित भएको बताउदै उहाँले तत्काल सार्वजनिक गर्न आग्रह समेत गर्नुभयाे।
सभापति थापाले २०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नगरिनु दुःखद भएको बताउनुभएकाे छ । विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक नगरेको उल्लेख गर्दै उहाँले त्यसैलाई देखाएर अझै गोप्य राखिरहनु उचित नहुनेमा जोड दिनुभयाे। न्याय पाउने पीडितको अधिकार भएको भन्दै उहाँले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गर्नुभएकाे छ।
राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको सभापति थापाकाे भनाइ थियाे ।










प्रतिक्रिया दिनुहोस्