Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


प्रतिनिधिसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको ४ मन्त्रीले जवाफ दिने (कार्यसूचीसहित)


234
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।

सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे हाे। परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौं वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेश गर्ने कार्यसूची छ । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे।

बैठकमा कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताववि प्रस्तुत गर्ने कार्यसूची छ । कानूनमन्त्री गौतमले बैठकमा ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता’ पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।