जनक बाेहरा-संवाददाता
बाजुरा । बाजुराकाे ताम्सुमा लगातारकाे वर्षासँगै आएकाे पहिराेमा परी २ सामान्य घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराले पहिराेका कारढ त्रिवेणी नगरपालिका-९ स्थित ताम्सुमा दुई घरमा क्षति पुगेको जनाएकाे हाे।बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण ताम्सुमा पहिरो गएको थियाे। स्थानीय टेकबहादुर थापाले घटनाकाे बारेमा प्रहरीलाई जानकारी गराउनुभएकाे छ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बडीमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । तर ताम्सु खोलामा पानीको बहाव अत्यधिक बढेका कारण प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न सकेन ।

स्थानीयसँग टेलिफोनमार्फत गरिएको जानकारी अनुसार ताम्सुमा बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति पुगेकाे छ । पहिरोमा परेका सोही परिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको हाे ।

घटनाको जानकारी पाएपछि शुक्रबार बिहान करिब ४ बजे प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी वेश क्याम्पबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो । उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ ।

ताम्सु क्षेत्र प्रहरी चौकी बडीमालिकाबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीको बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको हाे । बेपत्ता व्यक्तिको खोजी तथा पहिरोमा क्षति पुगेका घरपरिवारको उद्धारका लागि सुरक्षा निकायले प्रयास जारी राखेको छ ।
प्रहरीले स्थानीयलाई समेत शतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्