काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागि हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताउनुभएको हो ।
उहाँका अनुसार कोपमा सहभागि प्रधानमन्त्री शाहलाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाउनुभएको हो । सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।
यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ । टर्कीएका सम्माननीय राष्ट्रपति ज्युबाट निमन्त्रणा प्राप्त भएको हो ।
त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं । कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौं ।’
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्या मा हुँदैछ । नेपाल सरकारले उक्त सम्मेलनमा जालवायु न्याय, हानि नोक्शानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्