Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


हुम्लाकाे अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते


156
Shares

अर्जुन बोहरा, सिमकोट। हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलबार अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको बोलेरो जीप बाइकोट उकालोमा दुर्घटनामा परेको हो। जीपमा पाँच जना सवार रहेकोमा तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो।

दुर्घटनामा अदानचुली गाउँपालिका–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र जीप चालक चंखेली गाउँपालिका–३ का उज्वल बुढा घाइते भएका छन्। प्रहरीका अनुसार चालक बुढाको खुट्टामा चोट लागेको छ। घाइते शाहीको बायाँ हात भाँचिएको छ भने छत्यालको टाउकोमा चोट लागेको छ।

तीनै जना घाइतेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जीप उकालोबाट ओरालोतर्फ झर्ने क्रममा सडकमा नै पल्टिएको थियो।

दुर्घटनामा जीपको अगाडिको भाग र बायाँतर्फको सिसामा क्षति पुगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This