Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


चीनमा ‘टाइफुन डल्फिन’को खतरा, सांघाईका २ प्रमुख विमानस्थलमा १३ सय बढी हवाई उडान रद्द

करिब ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

0
Shares

एजेन्सी। चीनमा समुद्री आँधी ‘टाइफुन डल्फिन’को खतरा बढेको छ ।

जसका कारण सांघाईका दुई प्रमुख विमानस्थलबाट एक हजार ३ सय भन्दा बढी हवाई उडान रद्द गरिएकाे हाे । आँधी र भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै झेजियाङ प्रान्तमा करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण सांघाईका होङकियाओ र पुडोङ विमानस्थलबाट आइतबारका लागि निर्धारित उडानमध्ये करिब ६० प्रतिशत रद्द गरिएका हुन् ।

मौसम विभागले आगामी दिनमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएको छ । विशेषगरी चीनका तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षाको सम्भावना रहेको हाे। टाइफुन डल्फिन शनिबार उत्तरी ताइवानमा पुगेको थियो । त्यसका कारण राजधानी ताइपेईलगायत विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । आँधीको प्रभावका कारण ताइवानका केही एयरलाइन्सले आइतबार चीनका लागि निर्धारित उडान समेत रद्द गरेका छन् ।

आइतबार बिहानसम्म आँधीको अधिकतम निरन्तर हावाको गति करिब १ सय ६२ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो । मौसम पूर्वानुमानअनुसार आँधी आइतबार राति झेजियाङ प्रान्त र छिमेकी फुजियान प्रान्तको उत्तरी भागमा पुग्न सक्ने सम्भावना रहेकाे थियाे । चीनका मौसमविद्हरूले आगामी केही दिनमा प्रभावित क्षेत्रका अधिकांश स्थानमा २ सयदेखि ४ सय मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरेका हुन् ।

झेजियाङ प्रशासनले भारी वर्षाका साथै पहिरोको गम्भीर जोखिम रहेको भन्दै चेतावनी जारी गरेको छ ।