काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र प्राप्तिको संघर्षमा आदिवासी जनजाति समुदायको ठूलो बलिदान रहेको चर्चा गर्नुभयो । उहाँले कांग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह, भीमबहादुर तामाङ र बखानसिंह गुरुङ जस्ता योद्धाको योगदान स्मरणीय रहेको बताउनुभएकाे छ। कांग्रेस सधैँ जनजातिको अस्तित्व र पहिचानको पक्षमा लड्ने पार्टी भएको दावी गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्याउन बागमती प्रदेश सरकारले प्रभावकारी कदम चालेको बताउनुभएकाे छ। उहाँले चेपाङ, बोटे र जिरेल जस्ता अति पिछडिएका समुदायका विद्यार्थीलाई डाक्टर, इन्जिनियर तथा पशु चिकित्सक (भेटेरिनरी) पढाउन सरकारले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयाे।
आगामी दिनमा यो संख्या अझै बढाइने र प्रवेश परीक्षामा नाम निकालेर पनि आर्थिक अभावमा ‘पेयबल’ कोटामा पढ्न नसक्ने जनजातिका छोराछोरीको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्