Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पोलि सिलिकनबाट निर्मित उत्पादनको आयातमा १५ प्रतिशत कर लगाउने आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर


208
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलि सिलिकनबाट निर्मित उत्पादनहरूको आयातमा न्यूनतम मूल्य तोक्दै १५ प्रतिशत भन्सार महशुल लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

पोलि सिलिकन सौर्य प्यानल र सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने एक महत्वपूर्ण कच्चा पदार्थ हो । ह्वाइट हाउसद्वारा जारी गरिएको घोषणापत्र अनुसार, पोलि सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम २१ अमेरिकी डलर निर्धारण गरिएको छ । त्यसैगरी, पोलि सिलिकन इन्गट्स र वेफर्सको मूल्य प्रति किलोग्राम १ सय डलर कायम गरिएको हाे । यो नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर ४ देखि कार्यान्वयनमा आउने भएकाे छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोलि सिलिकन र सोसँग सम्बन्धित अन्य उत्पादनहरूको आन्तरिक उत्पादनमा लगानी प्रोत्साहन गर्ने कार्यक्रमहरू तर्जुमा गर्न समेत निर्देशन दिनुभयाे। ह्वाइट हाउसद्वारा जारी तथ्य पत्रमा उल्लेख भए अनुसार यी रणनीतिक वस्तुहरूको उत्पादनमा अमेरिकी उत्पादकहरूका लागि समान अवसर सिर्जना गर्ने, उद्योगहरूलाई स्वदेशमै फर्काउने र राष्ट्रिय सुरक्षाका साथै रक्षा क्षेत्रसँग सम्बन्धित औद्योगिक आधारको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

तथ्यांक अनुसार विश्वव्यापी पोलि सिलिकन उत्पादन क्षमतामा अमेरिकाको हिस्सा सन् २००५ मा ५० प्रतिशत रहेकोमा सन् २०२४ सम्म आइपुग्दा यो २ प्रतिशत भन्दा पनि न्यून बिन्दुमा झरेको छ।

Skip This